नेपाली सैनिक जङ्गी अड्डा, सभामण्डप  ।

कार्यक्रमका सभाध्यक्ष,

समारोह समितिका पदाधिकारीहरू,

विद्वान वक्ताहरू,

इतिहासविद्, अनुसन्धानकर्ता, विद्वत् समुदाय,

सञ्चारकर्मीहरू,

उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू  ।

जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित “नेपाली राष्ट्रियता र जङ्गबहादुर” विषयक यस विशेष प्रवचन कार्यक्रममा सहभागी भई यहाँहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरमा नेपालको इतिहासमा अमिट छाप छोड्न सफल एक महत्वपूर्ण ऐतिहासिक व्यक्तित्व जङ्गबहादुर राणाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको सम्मानपूर्वक स्मरण गर्दछु ।

इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।

नेपालको राजनीति अत्यन्त जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला राष्ट्रिय राजनीतिमा जङ्गबहादुर राणाको उदय भएको थियो । तत्कालीन राज्यसत्ता आन्तरिक षड्यन्त्र, शक्ति संघर्ष तथा राजनीतिक अस्थिरताले आक्रान्त थियो । यस्तो विषम परिस्थितिमा उहाँले शासनको नेतृत्व सम्हाल्नुभयो र लामो समयसम्म राज्यसत्तामा आफ्नो प्रभाव कायम राख्न सफल हुनुभयो ।

यस अवधिमा जङ्गबहादुर राणाले देशमा राजनीतिक स्थिरता कायम गर्ने प्रयास गर्नुका साथै प्रशासनिक संरचनालाई व्यवस्थित र सुदृढ बनाउनुभयो । राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप वि.सं. १९१० मा उहाँद्वारा जारी मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिन्छ । यद्यपि त्यस ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित थिए, जुन आजको मूल्य–मान्यताका दृष्टिले स्वीकार्य मानिँदैनन् । तथापि, इतिहासको मूल्याङ्कन गर्दा त्यस समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्नु आवश्यक हुन्छ ।

यसका साथै, जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय मानिन्छन् । तीमध्ये तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सतिप्रथालाई निरुत्साहित गर्ने पहल प्रमुख मानिन्छ । इतिहासकारहरूका अनुसार उहाँले आफ्ना पत्नीहरूलाई आफ्नो मृत्युपछि सती जान नदिने व्यवस्था गर्नुभएको थियो । यद्यपि यी प्रयासहरू तत्काल पूर्ण रूपमा सफल हुन सकेनन् र सतिप्रथाको औपचारिक अन्त्य पछि चन्द्रशमशेरको शासनकालमा मात्र भयो । तथापि, सामाजिक सुधारका प्रारम्भिक पहलकर्ताहरूमध्ये जङ्गबहादुरलाई स्मरण गरिन्छ ।

जङ्गबहादुरको अर्को महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित छ । उन्नाइसौँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भू–भाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय जङ्गबहादुरले खेल्नुभएको भूमिकालाई दिनु पर्छ ।

उहाँले बेलायतको भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई केही हदसम्म व्यवस्थित बनायो । यसै सन्दर्भमा, नेपाल र ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’ पनि उल्लेखनीय मानिन्छन्, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा योगदान पुर्‍याएको थियो ।

जङ्गबहादुरका कतिपय निर्णयहरू इतिहासमा विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गरिएका छन् । तर सन् १८५७ को भारतीय विद्रोह (सिपाही विद्रोह)को दमन गर्न सैन्य सहयोग गरेवापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र अर्थात् ‘नयाँ मुलुक’ फिर्ता पाउँनु उहाँको शासनकालसँग जोडिएको एक महत्वपूर्ण राष्ट्रिय उपलब्धिका रूपमा स्मरण गरिन्छ ।

आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको छ । आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारहरूको प्रवर्द्धनसँग पनि जोडिएको छ । इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्छ ।

जङ्गबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ, राष्ट्रको हित र स्वतन्त्रताको रक्षा आवश्यक छ, तर त्यससँगै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विस्तार पनि उत्तिकै आवश्यक छ । राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरण बिच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हो ।

अन्त्यमा, जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा उहाँले इतिहासमा गर्नुभएका सत्कार्यप्रति सम्मान व्यक्त गर्दै, नेपालको इतिहासका विविध अनुभवहरूबाट प्रेरणा लिन र कमजोरीहरूबाट शिक्षा ग्रहण गर्न सबैमा हार्दिक आग्रह गर्दछु ।

धन्यवाद  ।

२०८३ असार ७ गते, आइतबार  ।