नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
नयाँ वर्ष २०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न हामी सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना गर्दछु ।
२०८२ भदौ २३ र २४ गतेको घटनाबाट उत्पन्न विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा निकै ठूलो फेरबदल ल्याएको छ । लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको छ ।
विशेष गरी, अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा (एमाले)ले यस निर्वाचनमा अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय हो । निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक छ । नेकपा (एमाले) लगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर एवं वस्तुनिष्ठ समीक्षा गरी प्राप्त निष्कर्षहरूलाई आत्मसात गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक छ ।
यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौँ लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको छ । तसर्थ, जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो । साथै, नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि उत्तिकै जरुरी छ ।
अन्तमा, यस चुनौतीपूर्ण घडीमा वस्तुनिष्ठ दृष्टिकोण अपनाउँदै अझ बढी समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।
धन्यवाद ।
२०८३ वैसाख १ गते मङ्गलबार ।