पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको तिहार पर्व–२०८२ को शुभकामना सन्देश
नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथै धन–ऐश्वर्य र समृद्धिको प्रतीक देवी लक्ष्मी, अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहिआएको छ । यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।
तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा हाम्रो विशुद्ध नेपाली मौलिक संस्कृति हो, जसले समाजमा एकता र भाइचारालाई प्रगाढ बनाउँन पुर्याउँछ । यसबाट सङ्कलित कोष सामाजिक र सामुदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ । साथै, अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।
मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु । हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले हामी सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।
अन्तमा, दीपावलीको उज्यालोले हामी सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।