असार १३, २०८१ कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपतिबाट निवृत्त भएपछि शीतलनिवासबाट घर फर्केकी विद्यादेवी भण्डारीको गन्तव्य अब एमालेको राजनीतिक मैदानतर्फ सोझिएको छ। मुलुककै सर्वोच्च पदमा पुगेको व्यक्ति पार्टी राजनीतिको घेरामा खुम्चिनुहुन्न भन्ने बहस चले पनि त्यसले अब भण्डारीका पाइला रोकिने देखिँदैन

‘अब, कांग्रेस र एमाले एक्लाएक्लै भिड्न तयार हुनुपर्छ’

एमालेका नेताहरूले निम्त्याउने मञ्चहरूमा उपस्थित हुन थालेकी भण्डारीको सुस्त सक्रियताले केही समयमै आकार लिने संकेत छ। यो परिघटनाले एमालेको एउटा पंक्ति तरंगित र अर्को पंक्ति उत्साही बन्दै छ। पूर्वराष्ट्रपति भण्डारीको भावी राजनीतिक यात्राबारे कान्तिपुरका उमेश चौहान र दुर्गा खनालले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रपतिका रूपमा करिब ७ वर्ष शीतलनिवासमा रहेर भूमिका खेल्नुभयो। त्यहाँबाट पनि देश हेर्नुभयो, अहिले बाहिरबाट हेर्दै हुनुहुन्छ। आम रूपमा हेर्दा नागरिकमा चरम निराशा देखिन्छ। शीतलनिवासभित्र र बाहिरबाट राजनीति र नागरिकलाई हेर्दा के फरक हुँदो रहेछ?

यहाँले सुरुमै जनता निराश छन् भन्नुभयो तर मलाई त्यस्तो लाग्दैन। मैले राष्ट्रपतिको पदीय जिम्मेवारीमा रहेर काम गरिरहँदा पनि जनतालाई नजिकबाट हेरें। अहिले पनि हेरिरहेको छु। जतिखेरबाट म राजनीतिक रूपमा सचेत भएँं, त्यति बेलादेखि नै जनतालाई नजिकबाट हेरिरहेको छु। समय गतिशील छ। मानिसका अपेक्षा र आकांक्षा बढ्दै जान्छन्। आजभन्दा ४०/५० वर्षअगाडिको अवस्था र त्यतिबेला राज्यबाट जनताले गर्ने आशा एउटा थियो

हामी पनि दुर्गम क्षेत्रमै जन्मियौं, बाढीपहिरो, रोग, महामारी, भोकमरी देख्यौं। त्यतिखेर जनताको चेतनास्तर र राज्यबाट जे अपेक्षा गरिन्थ्यो, अहिले बढ्दै गयो। सूचना र सञ्चारमाध्यमका कारण विकसित देशहरूको विकास पनि देखियो। त्यसैले हरेक समय बदलिरहेको हुन्छ। हामीले पढ्दाको स्कुलको अवस्था, दुःख वा सुखको अवस्था धेरै फरक छ। तर पनि आकांक्षा के छ भने, बढीभन्दा बढी मानिसले आफूले इच्छाएको कुरा प्राप्त गर्न सकून् भन्ने हो। जनतालाई कसरी सन्तुष्टि दिने भन्ने कुराचाहिँ राज्य र सरकारको हुन्छ। जनता निराश भए भनेर उनीहरूलाई कमजोर देखाउनु हुँदैन

जनताको विश्वचेतना पनि फराकिलो भएको छ। अरू देशको शासन प्रणालीले आफ्ना नागरिकको आकांक्षा पूरा गर्न सक्ने, हाम्रो राज्यले नसक्ने अवस्था किन छ होला?

अरूले सक्ने, हामीले नसक्ने पनि भन्नु हुँदैन। आम सञ्चारमाध्यममा विकसित देशको राम्रो कुरा मात्र आउँछ। गरिबीको रेखामुनि बस्ने बेरोजगार जनता भएको ठाउँको विकृति विसंगति कस्तो छ भनेर आउँदैन। राम्रो कुरा मात्र देखाइएको हुन्छ। त्यसैले सबै राम्रो देखिएको हुन्छ। तर हामीले पनि केही न केही त राम्रा गरेका छौं। बेरोजगारी छ, त्यसमा दुईमत रहेन। राम्रो शिक्षा प्राप्त गर्ने आकांक्षा छ, त्यसलाई पनि अन्यथा लिन मिल्दैन

राष्ट्रिय उत्पादन वृद्धि गरेर जनताको आय वृद्धि गर्नुपर्ने हो, त्यसमा हामीले गर्न धेरै बाँकी छ। त्यसैले हामी धेरै गरिब भयौं कि भन्ने छ। अहिले संसारमा ७ अर्बभन्दा बढी जनसंख्या छ, त्यसलाई सरदरमा हेर्नुपर्छ। विश्वको जनसंख्या र त्यसमध्ये कति गरिबीको रेखामुनि बाँचिरहेका छन्, त्यसलाई हेर्नुपर्छ

हाम्रो स्रोत भए पनि सरकारले ‘डेलिभर’ गरेन भन्ने गुनासा छन्। तपाईंलाई कस्तो लाग्छ?

प्रकृति, संस्कृति र भूगोलले हामीलाई साथ दिएको छ। हामीसँग हिमाल, पहाड, तराई, चुरे छ। जलस्रोतको धनी देशमा पर्छौं। सांस्कृतिक हिसाबमा पनि संसारभर शान्तिका अग्रदूत भनेर चिनिने गौतम बुद्धको लुम्बिनी छ। सांस्कृतिक सम्पदाको विकास गर्न सकेमा तत्काल आम्दानी हुने भनेको पर्यटनले हो। यति ठूलो जनसंख्या भएका दुई मुलुक हाम्रा छिमेकी छन्। त्यसैले एकातिर गर्मी बढ्दा यता घुमौं भनेर आउन सक्छन्। त्यो बेलामा हामीले कुनै पूर्वाधार निर्माण गरिदिनुपर्छ। हामीसँग उडानहरू नियमित हुनुपर्‍यो। त्यो पनि ‘रिजनेबल’ हुनुपर्‍यो। त्यहीअनुसार व्यवसायीलाई उत्साहित गर्नुपर्‍यो। पर्यटन हाताहातीको ‘बिजनेस’ होनि ! त्यस्तै स्वरोजगार, रोजगार र राष्ट्रिय आयलाई वृद्धि गरेर अगाडि बढ्न सकिन्छ। नयाँ पुस्तालाई चाहिने स्रोत र सुविधा दिनुपर्छ। अध्ययन र अनुसन्धानको वातावरण दिनुपर्छ। त्यसरी बाहिरको निराशा चिर्न सक्छौं। हामी एक मिनेटमा चार फन्को घुम्नुपर्ने थियो होला, तर एक फन्को मात्र घुम्यौं। त्यसैले हाम्रो गति धिमा भएको हो

 

तपाईंले सांसद, मन्त्री, पार्टी उपाध्यक्ष र राष्ट्रपतिका रूपमा पनि भूमिका पूरा गर्नुभयो। हामी किन चार फन्को घुम्ने ठाउँमा एक फन्को मात्रै घुम्यौं होला त?

सुरुमा निरंकुश शासन प्रणाली थियो। त्यस बेला लोकतान्त्रिक प्रणालीमा जाने भन्नेमा ध्यान गयो। राजनीतिक प्रणालीलाई दिगो बनाउने भनेको आर्थिक प्रणालीले हो। त्यो प्रणालीलाई चाहिँ बनाउन सकेनौं कि ! हाम्रो देशका स्रोतका शक्तिमाथि उभिएर देशको राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने र त्यसमाथि कुनै खेलबाड नहोस् भन्नेमा प्रणालीले काम गर्नुपर्ने रहेछ। विभागीय जम्मेवारी मात्र हुँदा त्यतातर्फ ध्यान हुँदो रहेछ। हुन त

नेतृत्वमा बसेपछि समग्रताको कुरा पनि आउँछ। राजनीतिक प्रणाली पनि परिवर्तन त हुँदै गयो तर जुन गतिमा परिवर्तन हुनुपर्ने थियो, त्यो भएन। मलाई पनि जुन विभाग र जिम्मेवारी दिइयो, त्यतै मात्र बढी ध्यान गयो कि भन्ने लाग्छ। पार्टीगत हिसाबले मलाई एमालेमा महिलाहरूको जिम्मेवारी दिइएको थियो। मैले राष्ट्रिय सुरक्षा र रक्षा विभाग पनि हेरें। राष्ट्रपति भएर समग्रतामा हेर्दा हाम्रो राष्ट्रिय अर्थतन्त्र चाहिँ कमजोर नै भएछ कि भन्ने लाग्यो। जुन भूगोलमा अवस्थित छौं। त्यो कुरालाई हामीले समृद्ध जीवन जीउनका लागि जे भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो हुन सकेन कि भन्ने छ

केही नीतिगत कमजोरी पनि भए होलान्, केही व्यवहारगत कमजोरी होलान्। केही हुँदै नभएको भन्ने होइन। तर त्यो तत्कालीन खालको मात्र भयो, दिगो हुन सकेन। सत्तामा पुग्नका लागि जति सामर्थ्य नेतृत्वले प्रयोग गर्छ, त्यही अनुसारको आर्थिक उन्नतिका लागि वातावरण र सहमतिका साझा ‘एजेन्डा’ बनाउन नसकेको जस्तो लाग्छ

अहिले नै २०८४ सालको चुनावको कुरा हुन थालिसकेको छ। नयाँ राजनीतिक दलको आगमनले समाजमा घर्षण देखिएको छ। पुराना दलहरू सच्चिने वा नयाँ राजनीतिक दल अगाडि बढ्दै शक्तिमा हस्तक्षेप गर्न सक्ने सम्भावनामध्ये कुन बलियो छ?

अहिलेसम्मको परिस्थिति हेर्दा नयाँ पुराना भन्ने कि मूलधारका राजनीतिक दल भन्ने ! मूलधार विशेष गरेर दुई प्रवाहमा छ। एउटाको प्रतिनिधित्व एमालेले र अर्कोको प्रतिनिधित्व कांग्रेसले गर्छ। परिपक्व, अनुभवी नेतृत्व, स्पष्टता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा यी दलहरूमा स्पष्टता छ। हामी बहुदलीय प्रणालीमा छौं। अहिले केही नयाँ दल आएका छन्। केही क्षेत्रीय पार्टी छन्। तिनीहरू आफ्नो समुदायलाई केन्द्रित गरेर आएका छन्

कहिलेकाहीं स्वतन्त्र व्यक्तिहरू पनि आउँछन्। राष्ट्रिय पञ्चायतकै पालामा पनि चुनाव हुँदा जनताले नयाँ स्वतन्त्र व्यक्तिहरूलाई उठाएर जिताएका हुन्। उहाँहरूले समस्या समाधान गर्न सक्नुभएन। दुई सिद्धान्तको आदर्श बोकेर बसेका मूलधारका दुई राजनीतिक दलकै वरिपरि अहिले उदय भएका अथवा क्षेत्रीय दल घुमिराखेका छन्। उहाँहरूले देशको नेतृत्व गर्न सक्नुहुन्छ जस्तो लाग्दैन। राष्ट्रिय एजेन्डामा उहाँहरू मिलेर जान सक्नुहुन्छ

मूलधारमा एउटा धारको प्रतिनिधित्व एमाले र अर्कोको प्रतिनिधित्व कांग्रेसले गर्छ भन्नुभयो। तर मुलुकको सौभाग्य हो वा दुर्भाग्य, नेतृत्वमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी छन्। यिनको भूमिकालाई कसरी हेर्नुहुन्छ?

त्यतिबेला पनि मूलधारको शक्तिलाई अलिकति सक्काउन माओवादीको उदय भएको हो कि ! कांग्रेस सत्तामा थियो, उसले सर्वसत्तावादी सोच राख्यो। त्यो कारणले माओवादीको उदय भएको देखिन्छ। नेपालको शक्तिशाली कम्युनिस्ट पार्टीका रूपमा एमालेको उदय भइरहेका बेला उसलाई ‘साइज’मा राख्न पनि केहीले माओवादीलाई सहयोग गरेको हुनुपर्छ। तर उहाँहरूले पनि अब आफ्नो दृष्टिकोण स्पष्ट गर्नुपर्छ। मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याइरहँदा कम्युनिस्ट पार्टीहरूमा पनि प्रतिस्पर्धा हुन्छ भन्ने नै अवधारणा हो। त्योअनुसार नै अरू कम्युनिस्ट पार्टीहरूसँग एमालेले सहकार्य गरिराखेको अवस्था छ

माओवादी खास अवधिमा उत्पत्ति भएको शक्ति हो। कहिलेकाहीं त बाढी आएपछि खोलामा पानी सङ्लो हुन समय लाग्छ। २०४६ सालको जनआन्दोलनपछि जसरी दुई दलको उदय भयो र अगाडि बढिरहेका थिए, ती दललाई अलिकति ‘डाउन’ गर्न माओवादी आएको हो कि जस्तो लाग्छ। २०६४ सालदेखि अहिलेसम्म आइपुग्दा उहाँहरूले ४ वटा चुनाव लडिसक्नुभयो। तर पहिलेको आन्दोलन अगाडि बढाउन सक्नुभएन। उहाँहरूको विकास चाहिँ उकालोमा लाग्नेभन्दा पनि ओरालोतर्फ छ। यहाँ त राष्ट्रिय शक्ति कांग्रेस र एमालेले आफूलाई बलियो बनाउनका लागि फलामका धेरै च्युरा चपाउनुपर्छ। बेलाबेला यस्तो भइरहन्छ। अहिले स्वतन्त्र, रविजीहरू आउनुभएको छ। उहाँहरूले ‘लिड’ गर्न सक्नुभयो भने त ठीक छ

एमालेलाई ‘साइज’मा राख्नका लागि पनि कतिपय शक्तिले माओवादीलाई सहयोग गरे होलान् भन्नुभयो, तर प्रचण्डलाई तीन पटक प्रधानमन्त्री बनाउन त एमाले नै अग्रसर भयो। माओवादीको २०६४ देखि जनमत घटिरहेको छ, तर शक्तिमा उसलाई लगिराख्ने काममा एमालेले कांग्रेससँग प्रतिस्पर्धा गरिरहेको छ नि?

हो, तीन पटक एमालेले नै समर्थन गरेर माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनायो। २०६४ मा एमालेको धारणा स्पष्ट थियो। माओवादी कांग्रेसप्रति त्यो बेलामा ‘एग्रेसिभ’ थियो। त्यसैले त्यो बेला एमाले र माओवादीको सरकार बनेको हो। पछिल्लो अवधिमा फेरि मिलेर सहकार्य गर्ने भन्ने भयो। यो राष्ट्रिय परिस्थितिको खेल हो। २०७४ पछि एकातर्फ मैले पनि सहकार्य गरेको हुँ तर नेतृत्व पाइनँ भन्ने माओवादीलाई पर्‍यो। अर्कातर्फ नेकपामार्फत सबै मोर्चा नै कब्जा गर्न सकिन्छ कि भन्ने सोचविचारले त्यहाँ काम गर्‍यो। उहाँहरू पहिले मिलेर जानेतर्फ लाग्नुभयो। त्यसपछि एमालेभित्रकै एउटा पंक्तिलाई सदुपयोग गरेर खासगरी मदन भण्डारीको विचार– जनताको बहुदलीय जनवादको पक्षधर शक्तिलाई धराशायी बनाउने हिसाबले त्यहाँ खेल भयो। नेकपा गठनपछिका दिन त्यस खालको खेल भयो। त्यसले गर्दा देशको राजनीति नै अर्कातर्फ गयो। तर २०७९ को चुनावपछि त्यतिखेरको गल्ती सच्याउने र कम्युनिस्ट अवधारणाअनुसार अघि जाने कि भनेर फेरि एक ठाउँमा आउने अवस्था भयो। देशले बुझ्नुपर्ने के छ भने अब माओवादी के गर्छ? उसको वैचारिक धार कुन हो? कांग्रेसनिकट हो कि एमालेनिकट हो? यो प्रस्ट गर्नुपर्ने हुन्छ। उही खेलाउने मात्र र देशलाई एकदमै अस्थिरता कायम गरिराख्ने हो भने एउटा कुरा हो

मैले त कांग्रेस र एमालेका नेतालाई के सुझाव दिएको छु भने कसैले एमालेलाई एक्ल्याए पनि एमाले आफू लड्नका लागि तयार हुनुपर्छ। कम्युनिस्टहरू सबै मिले भने पनि कांग्रेसले आफ्नो नेतृत्वमा जित्ने गरी तयारी गर्नुपर्छ। अर्काको बुइँ चढेर मात्रै अथवा अर्कालाई फुटाऊ र शासन गर भन्ने होइन। शक्ति सञ्चय गरेर आफ्नो विचार र कार्यक्रमका आधारमा जनताको बीचमा जानुपर्छ। तर माओवादी अहिलेसम्म पनि स्पष्ट छैन। उहाँहरू कुन बेला कता लाग्नुहुन्छ, ठेगान छैन। किनभने २०७९ को चुनावपछि उहाँहरू एमालेसँग निकट हुनुभयो, प्रधानमन्त्री बन्नुभयो। तर राष्ट्रपतिको चुनावमा उहाँहरूले आफ्नो विचार बदल्नुभयो, कांग्रेससँग मिल्नुभयो। अब फेरि आएर विचार बदलिएको छ

प्रधानमन्त्री तथा माओवादीका अध्यक्षले भन्नुभएको छ, ‘३२ सिट भनेर के गर्ने? नम्बर जादुयी भएपछि कसैले चाहेर पनि हटाउन सक्दैन।’ अब यही खेल चलिरहने हो भने कति मत पाएको दललाई कस्तो भूमिका दिने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बेला भएन र?

भूमिका स्पष्ट हुनुपर्छ। स्पष्ट हुँदा राम्रो हो। यो जादुको छडी के छ मलाई थाहा छैन। पहिला जसरी भूमिगतकालीन हिसाबले सशस्त्र संघर्ष गर्नुभयो, त्यही सपना होला। तर ती दिन र समाज परिवर्तन भइसक्यो। देशलाई स्थायित्व दिनका लागि कुनै पदमा बस्नु वा नबस्नु ठूलो कुरा होइन। आज देशको माग र आवश्यकता पूरा गर्नतर्फ लाग्नुपर्छ। २०७४ सालको निर्वाचनमा पहिले एमाले र माओवादीको गठबन्धन भयो र त्यसपछि पार्टी एकीकरण भयो

त्यो एकीकरणमा तपाईंको भूमिका थियो भनिन्छ। एकीकरणमा टुटफुट आउन थालेपछि ‘को–पाइलट’ हरूलाई शीतलनिवासमा बोलाएर नफुट्नुहोस् भनेर अभिमुखीकरण गर्नुभएको थियो भनेर हामीले पनि लेख्यौं। तपाईको पहलको उद्देश्यचाहिँ के थियो?

देशका लागि राष्ट्रिय शक्तिहरू मिलेर काम गर्नुपर्‍यो नि त ! हामी जुन निर्वाचन प्रणालीमा छौं, कसको कति सामर्थ्य हुन्छ, त्यसका आधारमा शासन प्रशासन चलाउनुपर्ने जनादेश प्राप्त हुन्छ। त्यतिखेर नेकपालाई नै मुलुक चलाउने जनादेश थियो। इतिहासमा कहिल्यै पनि प्रधानमन्त्री वा कुनै सरकारले पूरा अवधि काम गर्न नसकेको अवस्था थियो

२०४८ सालमा कांग्रेसको बहुमत थियो, तर कांग्रेस विपक्षी होइन आन्तरिक कारणले नै मध्यावधिमा जानुपर्‍यो। २०१५ सालमा पनि बहुमत थियो, तर कांग्रेसले चलाउन सकेन। विगत हेरेर पनि कमसेकम पाँच वर्ष त धैर्य गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो। त्यतिखेर बहुमत जसको छ, त्यसले काम गरेर देखाओस्, त्यसपछि निर्वाचनमा जनताले मूल्यांकन गर्छन् भनेरै पूरा अवधि चलोस् भन्ने मनसाय थियो। राष्ट्रिय एकता र मेलमिलाप गरेर अगाडि बढ्नुहोस् भन्ने नै मेरो आशय थियो। अरू केही पक्षधरता थिएन

नेकपा जोगाउन यहाँले प्रयत्न गरे पनि अन्ततः पार्टी मात्र विभाजन भएन, ५ वर्षका लागि जनताले दिएको जनादेश पनि अवरुद्ध भयो र संसद् विघटन भयो। यो अवस्था कसको कारणले आयो?

प्रधानमन्त्री संसद् विघटन गरेर ताजा जनादेशमा जाने तहमा पुग्नुभयो। नेकपा बनिसकेपछि पनि दुईधार मात्र हुनुपर्नेमा एमालेभित्र पनि दुईधार भयो। माओवादीमा पनि सानो हिस्सा थियो। तर यता एमालेको एउटा र उता माओवादीको एउटा हिस्सा मिलेर खासगरी जनताको बहुदलीय जनवादको पक्षधर हिस्सामाथि ‘वैचारिक दमनचक्र’ चलाउने खालको स्थिति देखापर्‍यो। प्रधानमन्त्रीले मिलाउने कोसिस त गर्नुभयो तर नसकेपछि ताजा जनादेशमा जाने कुरा गर्नुभयो। त्यसलाई पछि कानुनी प्रक्रियाबाट उल्टाउने काम भयो

राजनीतिक हिसाबले विचार गर्दा र विश्वको प्रणाली हेर्दा पनि यसलाई अन्यथा लिन हुँदैन। हामीले निर्वाचन गरेर त्यो अवधि पूरा गर्ने हो भने प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिनुपर्ने हुन्छ। त्यसो भयो भने सांसदहरूले प्रधानमन्त्रीसँग सहकार्य र सम्झौता गर्न सक्छन्। त्यसो नहुने हो भने आन्तरिक लडाइँ भइरहने र अगाडि जानेभन्दा पनि एउटा उल्झन र चलखेलमा देश बसिराख्ने भयो। पछि संविधानको व्याख्या एउटा भयो। सर्वोच्चले गरेको व्याख्यालाई मानेर जानुपर्‍यो तर राजनीतिक हिसाबले भन्ने हो भने यस्ता कुरा पहिले पनि भएका थिए। अरू देशमा पनि भएकै हुन्

खासमा विवादको जडचाहिँ पार्टीभित्र थियो। पार्टीभित्रको विवादलाई लिएर देशको प्रधानमन्त्रीले संसद् नै विघटनको प्रस्ताव गर्ने र राष्ट्रपतिले अनुमोदन गर्ने कुरा असंवैधानिक थियो भनेर सार्वजनिक रूपमा मात्र बहस भएन, अदालतले पनि प्रमाणित गर्‍यो। अहिले फर्केर हेर्दा कस्तो लाग्छ?

सर्वोच्च अदालतले गरेको संविधानको व्याख्या हो। अधिकारको कुरा हो। प्रधानमन्त्रीले क्याबिनेटबाट पारित गरेर म संसद् विघटन गर्छु भनेर निर्णय लिएर आउनुभयो। मैले त्यसलाई स्वीकृत गरें। मैले गरेको कुरा पनि मलाई ठीक लाग्छ। ताजा जनादेशमा जानुपर्थ्यो। जनताले सोच्न पाउँथे। ङ्यार्रङुर्र गरेर बस्नुभन्दा नयाँ पार्टीलाई जनताले ‘म्यान्डेट’ दिन सक्थे नि ! ओलीले ठिकै गरे भन्ने जनतालाई लाग्यो भने एमाले आउँथ्यो वा नेकपा नै रहन्थ्यो। त्यसैले लोकतन्त्रलाई एकदमै निक्खर बनाउने, निर्वाचनमा जाने कुरामा हामी डराउन हुँदैन। संसद् पुनःस्थापना गरेकामा मलाई भन्नु केही छैन। मलाई विघटन गरेको कुरा बेठिक हो भन्ने लाग्दैन। निर्वाचनमा गएको भए जनताको फैसला थाहा हुन्थ्यो

प्रधानमन्त्रीले आन्तरिक रूपमा विश्वास गुमाएको वा पार्टीभित्र अन्तरद्वन्द्व भएका कारण संसद् विघटन गर्दै जाने हो भने त त्यसपछि पनि कति पटक संसद् विघटन भइसक्थ्यो होला?

 

एउटा घटनाले समग्र कुरामा अर्थ निकाल्न सकिन्न। जतिखेर पनि प्रधानमन्त्रीले संसद् विघटन गर्छन् भन्ने कुरा होइन। खास अवस्थामा गर्ने हो। मिलिजुली सरकार छ भने त सबै दलको सहमति हुनुपर्‍यो होला। वा उनले राजीनामा दिएर अरूलाई‘ह्यान्डओभर’ पनि गर्न सक्छन् होला नि !

तत्कालीन प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान भयो। शेरबहादुर देउवा र केपी ओलीले दाबी गर्नुभयो। तर तपाईंले थोरै सांसदको समर्थन भएका ओलीलाई प्रधानमन्त्री बनाउनुभयो। कसलाई प्रधानमन्त्री बनाउने भन्ने राष्ट्रपतिले निर्धारण गर्ने हो कि तत्कालीन अंकगणितले?

त्यो बेला एमाले फुटेको थिएन। केपी ओलीले बहुमत देखाउनुभएको थियो, त्यसका आधारमा गरेको हो। फुटिनसक्दासम्म त एउटै पार्टी भयो नि

२०७९ को चुनावपछि नयाँ दल आएका छन्। बिहानीले दिउँसोको संकेत गर्छ भनेझैं नयाँ दलले गरेको संकेत कस्तो लागिरहेको छ?

नयाँ दलप्रति पनि जनतामा त्यस्तो उत्साह देख्दिनँ। हामी जनताको प्रत्यक्ष नजरमा छौं। कोठाभित्र मैले गरेको काम जनताले देख्दैनन् भन्ने कसैले पनि सोच्नु हुँदैन। त्यसैले राम्रो काम गर्‍यो भने खारिँदै आउँछ। राम्रो काम गरेन भने ढोंग हुन्छ। ढोंग र आदर्श फरक चिज हो। केही समयका लागि आकर्षणका लागि कसैले ढोंग गरिराखेको छ भने एक दिन त्यो उदाङ्गो हुन्छ। मैले धेरै आशाजनक देखेको छैन। त्यसैले भन्छन् नि,‘ओल्ड इज गोल्ड’

‘ओल्ड इज गोल्ड’ भनेपछि तपाईंका लागि पनि उही पुरानो दल एमाले नै ठीक होला। तपाईं अब एमालेमै सक्रिय बन्ने खबर पनि आएका छन्। केही समयअघि एमालेको सदस्यता नवीकरण गर्नुभयो भन्ने पनि सुनिएको छ। अबको राजनीतिक सक्रियता र कदम कस्तो हुन्छ?

 

यो विषय किन यतिधेरै उठिरहेको छ, मैले बुझिराखेको छैन। राष्ट्रपति भएको केही समयदेखि नै म फेरि दलको नेतृत्वमा आउँछु भनेर विभिन्न एंगलबाट प्रचारित भयो। म पनि वास्तवमा अनभिज्ञ छु। राष्ट्रपति निर्वाचित भएपछि एउटा चरण पार गरेर अर्को चरणमा प्रवेश गरेको भन्ने बुझेको हुँ

तर केही समयपछि कम्युनिस्ट पार्टीभित्र नेतृत्व अभावको कुरादेखि प्रधानमन्त्रीसम्मका कुरा सार्वजनिक माध्यमबाटै आएका हुन्। कहाँ कसरी यो कुराको उत्पत्ति भयो भन्ने कुरामा म अनभिज्ञ छु। त्यसले आकार ग्रहण गर्दै गएपछि मलाई पनि साथीभाइहरूले त सुनाउने नै भए। त्यसपछि त्यो कुरामा जिज्ञासा पनि राख्ने नै भए। तपाईंहरू पत्ता लगाउन सक्नुहुन्छ भने मेरोबारेमा कसरी कुरा उठ्यो होला, बताइदिनुस्

हामी यति चाहिँ भन्न सक्छौं कि यो कुरा कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी वा राप्रपाबाट आएको होइन

नहोला। उहाँहरूलाई त यो आफ्नो पार्टीको मामिला भएन। तर यो यहींभित्र पनि कसरी उठ्यो त? जबकि हामी विशुद्ध राष्ट्रको सेवाका लागि लाग्यौं, काम गर्दै जाँदा निर्वाचन लडियो, केही समयमा पद र जिम्मेवारी पनि आए। अहिले पनि हाम्रो अर्जुनदृष्टि देशको कतिपय मामिलामा सकेको योगदान गर्नुपर्छ भन्ने हो। त्यसैले समसामयिक र वैचारिक विषयमा मैले सहयोग गर्न सक्ने कुरामा गर्ने र क्रियाशील हुने कुरामा हुने हो। म न ढोकामा चुकुल लगाएर बस्छु न मेरो वनबास जाने बेला भयो भनेर भनेको छु। तर दलीय राजनीतिमा आउने कि नआउने भन्ने कुरामा मसँग त्यस्तो छलफल पनि भएको छैन र मैले आउँछु पनि भनेको छैन। धारणा बनाएको पनि छैन

एमालेसँग सुरुदेखि नै आबद्ध भइयो। २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा भाग लिएँ। त्यो बेला स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने भन्ने माग थियो। त्यो पूरा भयो। जनमत संग्रहमा पनि गइयो। २०४६ सालमा पार्टी प्रतिबन्ध हटाएर बहुदलको पक्षमा लागियो। पार्टी सदस्यता पनि मदन भण्डारीसँग शपथ खाएर लिएको हो। पछि संयोगवश उहाँसँग विवाह भयो। उहाँको निधनपछि पनि पार्टीको सक्रिय जीवनमा रहें। पदीय हिसाबमा दुई पटक उपाध्यक्ष भएँ। अब मैले जति निष्पक्ष काम गरे पनि एमालेकै हितका लागि काम गरेको भन्ने भाष्य निर्माण भएको छ। मलाई यसमा सुख र दुःख दुवै छ

किनभने म एमाले भए पनि मैले गलत गरेको छैन। राष्ट्रिय हित, सुरक्षा र जनतामा सुखशान्ति कसरी प्राप्त हुन्छ भनेर समर्पित भएर हिँडेको हो। मेरो पहिचान पारिवारिक सम्बन्ध र जीवन यात्रा पनि वैचारिक ढंगले निरन्तर एमालेमै भएकाले अहिले पनि मकहाँ भेट्न आउने साथीहरू हिजो जुन संगठनमा बसेर काम गरें, देश भ्रमण गरें, तिनै साथीहरू हुन्। अरू साथीहरू पनि नआउने भन्ने होइन तर बढी सम्पर्क उहाँहरूसँगै हुन्छ। त्यसैले तपाईंहरू सबैलाई के लाग्छ भने, म पार्टीमा सक्रिय भइरहेको छु। कहिलेकाहीं कार्यक्रममा बोलाउँछन्। पार्टीले मलाई गणतन्त्र गौरव सम्मान अर्पण गर्ने भन्यो। देशको प्रधानमन्त्री भइसकेको नेताले बोलाएपछि म नजाने भन्ने हुँदैन। यी सबै कुराले गर्दा म एमालेमा सक्रिय भएँ, मैले सदस्यता पनि लिएँ भन्ने प्रचार भएको छ

यहाँले प्रचार भनेपछि सदस्यता नवीकरण गरेको/नगरेको भन्ने प्रतिप्रश्न गर्नुपरेन?

मैले पार्टी सदस्यता नै लिएँ भने पनि फेरि पार्टीगत राजनीतिमै सक्रिय भएको भन्ने अर्थ निकाल्न हुँदैन। जिम्मेवारीमा गयो कि गएन भन्ने कुरा पनि हुन्छ। यसमा हाम्रो ‘ओपन माइन्ड’ हुनुपर्छ। म अहिले गएर कसको निकट भएर काम गर्ने त? कांग्रेसको निकट भएर काम गर्नेभन्दा उहाँहरूले त निमन्त्रणै नगर्नुहोला ! औपचारिक रूपमा सदस्यता लिने नलिने भन्ने एउटा कागजी कुरा भयो। म त सदस्य उहिल्यै भइसकेको हो। त्यसपछि सदस्यताले निरन्तरता पाइरह्यो। राष्ट्रपति भएपछि त्यो स्थगित रह्यो

राष्ट्रपति भइसकेको व्यक्तिबाट अब अभिभावकीय भूमिका हुनुपर्छ, कुनै दलको सदस्य हुन शोभा दिँदैन भनेर समाजले भनिरहेको छ नि?

सदस्य हुँदा र नहुँदाको अवस्थामा पक्षधरता भन्ने हुँदैन। मलाई हृदयको कुरा गर्नुपर्छ र विवेकको प्रयोग गर्नुपर्छ भन्ने लाग्छ। कोही मान्छे सदस्य नभए पनि पक्षधरता बेस्सरी अपनाएका हुन्छन्। कोही सदस्य भए पनि विवेक प्रयोग गरिरहेका हुन्छन्। हामी एकदमै अन्धविश्वासमा बस्नु हुँदैन

पार्टीको सदस्य भएपछि त्यसको एउटा अनुबन्ध हुन्छ, अनुशासन पालना गर्नुपर्छ, ‘सर्कुलर’ मान्नुपर्छ। त्यो अनुबन्धनमा तपाईं बस्नुभएको छ कि छैन? त्यही बाटोबाट नेतृत्वमा जाने योजना छ कि छैन?

अहिलेसम्म पार्टीले तपाईं हाम्रो अनुबन्धमा हुनुभयो भनेर भनेको छैन। ‘सर्कुलर’ पनि गरेको छैन। मेरो सदस्यता नवीकरण गरेको भनेर कार्ड दिएको पनि छैन। मैले निवेदन दिएको छैन। दिनुपर्‍यो भने सहज रूपमै हुन्छ

शीतल निवासबाट फर्केपछि तपाईं पार्टीमा फर्किनुहुन्छ र प्रधानमन्त्री बन्नुहुन्छ भन्ने भाष्य अझ बलियो बनेको छ नि ! एमालेकै नेता कार्यकर्ताले यो भनिरहेका छन्। जो नेताले तपाईंलाई पार्टीको सक्रिय राजनीतिमा आउनुहोस् भनिरहेका छन्, तिनलाई के सन्देश दिने गर्नुभएको छ?

राष्ट्रिय जीवनमा नै म बढी सक्रिय छु। राष्ट्रको आवश्यकताअनुसार अनुभव पनि प्राप्त गरिसकियो। दलीय राजनीतिमा आउने वा नआउने भन्नेबारे मैले आफ्नो धारणा सार्वजनिक गरेको छैन। अब पहिलो चरणमा सकेसम्म नयाँ पुस्तालाई नै नेतृत्वमा ल्याउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो। नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ। म अर्कै जिम्मेवारीमा रहें। पार्टीमा अर्कै नेतृत्व चलिरहेको छ। नेतृत्वले सफलतापूर्वक आफ्नो काम गरिरहेको छ। त्यसो हुँदा अहिले नै जानुपर्छ भन्ने आवश्यकता मैले महसुस गरेको छैन

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि अभिभावकीय भूमिकामा गएको मान्छे त्यही भूमिकामा रहँदा ठीक हुन्छ, कसैले अनावश्यक हल्ला चलाइरहेका छन् भन्नुभएको छ। यो भाष्यले एमालेभित्र र नेतृत्वलाई पनि असहज बनाएको महसुस गर्नुभएको छ?

त्यो कुराले कसैलाई असहज भएको छ भन्ने लाग्दैन। म एमाले, सबै पार्टी र सार्वजनिक व्यक्तिहरूसँग संवादमा छु। मेरो चर्चाले कसैलाई त्यस्तो समस्या पारेको लाग्दैन। बरु चर्चा गरेर समस्या पार्ने कोसिस चाहिँ मिडियावालाहरूले गरिरहेका छन्।अब मिडियालाई कसले सूचना दिन्छ? फेरि मिडियाले त सूचना अध्ययन गर्नुपर्‍यो नि

 

अब अन्तमा, पञ्चायतकालदेखि राजनीति गर्नुभयो। सांसद, मन्त्री, पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपतिसम्म बन्नुभयो। आफ्नो जीवनकालमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभयो। अब पनि राजनीतिमा सक्रिय भएर केही भूमिका पूरा गर्न बाँकी छ भन्ने लाग्छ?

राष्ट्रपति भनेको संवैधानिक हिसाबले सर्वोच्च पद हो। त्यो ठाउँमा बसेर मैले जिम्मेवारी निर्वाह गरिसकें। त्यसैले पदीय रूपमा रहेर काम गर्ने भन्ने मेरो दिमागमा छैन। तर, गर्नुपर्ने एजेन्डा त बाँकी छन् नि ! अहिले कति कुरा राष्ट्रिय ‘एजेन्डा’ छन्, कति अन्तर्राष्ट्रिय। त्यसमा कामचाहिँ गर्नुपर्छ। हाम्रो क्रियाशीलता हाम्रो विचारमा केन्द्रित हुनुपर्छ भन्ने लाग्छ। पदीय जिम्मेवारीमा रहने कुरालाई मैले ‘क्लोज’ पनि गरेको छैन। राष्ट्रको आवश्यकतालाई ‘ओपन’ नै राखेको छु

प्रकाशित : असार १३, २०८१ ०६:३७

https://ekantipur.com/Interview/2024/06/27/now-congress-and-uml-should-be-ready-to-fight-alone-14-11.html