ओलीपछि अध्यक्ष को भन्ने अहिल्यैदेखि चर्चा चलाउनु आवश्यक छैन

कात्तिक १६, २०८० बिहीबार ६:४४:५७
नागरिकता कानुनका विषयमा धेरैतिरबाट प्रश्न उठेका छन्। नागरिकतालाई जाति, समुदाय वा भौगोलिकताका हिसाबले हेर्ने होइन। राष्ट्रिय रूपले हेर्नुपर्छ। मैले त्यति बेला सरकारलाई जुन विषयहरू औंल्याएको थिएँ, ती विषयलाई देशको इतिहाससँग पनि जोडेर हेरियोस्। नेपालको नागरिकता कानुन नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय पहिचानसँग सम्बन्धित छ।
बजारमा, खासगरी एमाले वृत्तमा हलचलसहित परिचर्चामा रहेको पछिल्लो विषय हो– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने। एमालेमा भण्डारी प्यानलै बनेको र प्रदेशस्तरीय निर्वाचनमा प्रतिस्पर्धाको अस्तित्वमा आएको समेत भनियो।
पूर्वराष्ट्रपति भण्डारी यसबारे भन्छिन्, ‘मैले गर्नुपर्ने काम गरिसकेँ, अब फेरि किन सक्रिय राजनीतिमा जानुपर्यो ?’ तैपनि पार्टीभित्र छलफल भयो, सबैले एकताका साथ धारणा बनाए भने– त्यतिखेर सोच्न उनी तयार छिन्। राष्ट्रपति बनाइनुअघि नै पार्टी नेतृत्वमा आफ्नो नाम चर्चा गरिएको पाएको उनले खुलाइन्। र, भनिन्, ‘नेताहरूले मलाई राष्ट्रपतिमा पठाउनुभयो भने सबैका लागि खुला भयो नि !’
राष्ट्रपति पद बुख्याँचाका रूपमा आफूले नपाएको बताउने भण्डारीले नागरिकता विधेयक र अपराधीलाई छाड्ने अध्यादेश रोकेर सरकारको स्वेच्छाचारितालाई चुनौती दिएकी थिइन्।
प्रस्तुत छ, पूर्वराष्ट्रपति भण्डारीसँग शीतल निवासको ७ वर्षे बसाइ, अबको गन्तव्य, राष्ट्रिय राजनीति, देशको समग्र अवस्थालगायत विषयमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण एक्स्प्रेसका सम्पादक कमलदेव भट्टराईले गरेको कुराकानीको सम्पादित अंश–
पहिला राजा–महाराजा रहने ठाउँ राष्ट्र प्रमुखको सर्वोच्च पदमा नागरिकको छोरी पुग्नुभयो, कस्तो अनुभूति गर्नुभयो ?
देशको सर्वोच्च पदमा पुगेर काम गर्न पाउँदा कसलाई खुसी लाग्दैन होला ? मलाई पनि खुसी लाग्यो, लागेको छ । राजघरानाबाट वंशाणुगत ढंगले राज्यको सर्वोच्च पदका पदाधिकारी छान्ने प्रणाली बदलेर जनताले आफ्नो मताधिकारबाट चुन्न पाएका छन् । यो लोकतन्त्रको सुखद अभ्यास हो । भविष्यमा पनि धेरै जनताका छोरीले त्यो पदमा पुगेर राष्ट्रको सेवा गर्न पाऊन् भन्ने मेरो शुभेच्छा छ । अर्कातिर, राजा–महाराजा बस्ने ठाउँमा म पुगें भनेरचाहिँ तुलना गर्नु हुँदैन । त्यो प्रणालीको भिन्नता हो । उनीहरूको ठाउँ होइन ।
पुराना र उन्नत लोकतान्त्रिक मुलुकमा समेत महिला राष्ट्र प्रमुख बन्न सकेका छैनन् । हामीकहाँ तपाईं राष्ट्रपति हुनुभयो । आउँदा आउँदै हाम्रो लोकतन्त्र परिस्कृत भइसक्यो भन्न मिल्छ ?
हाम्रो देशमा लोकतन्त्र सदा परिस्कृतै छ । सदैव उदाहरणीय लोकतन्त्रका पक्षमा रहेको यहाँको जनमत हो । जहाँसम्म अवसरको कुरा छ, महिला मात्र भएर त्यस ठाउँमा म पुगेको भन्ने मलाई लाग्दैन । देश गणतान्त्रिक प्रणालीमा गएपछि महिला, पुरुषभन्दा पनि राष्ट्र प्रमुखको पदमा एउटा सक्षम व्यक्ति पुग्नुपर्ने हुन्छ । अहिलेको राष्ट्रिय परिप्रेक्षमा हेर्दा, म महिला भएका नाताले, त्यहाँ पुग्नु सकारात्मक भने रह्यो । तर, नेपालको कम्युनिस्ट आन्दोलनका हिसाबले हेर्दा म जननेता मदन भण्डारीको परिवारको सदस्य मात्र होइन, श्रीमती हुँ । उहाँको जसरी २०५० जेठ ३ गते दुःखद अन्त्य भयो, त्यसपछि उहाँको राजनीतिक बाटो पछ्याउँदै म निरन्तर लागिरहें । पार्टीले मलाई अगाडि बढाउन सहयोग ग¥यो, म पनि त्यसमा डटेर लागिरहें । त्यतिकै वा महिला भएकै आधारमा त्यहाँ पुगेको होइन ।
मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको स्कुलिङको भूमिका पनि यो उपल्लो पदमा पुग्नुमा पक्कै रह्यो होला ?
नेपालको कम्युनिस्ट आन्दोलनको मौलिक सिद्धान्त हो जनताको बहुदलीय जनवाद । यसलाई नवीन विचारका रूपमा हेरिएको छ । पार्टीको ८ औं महाधिवेशनले यसलाई मार्गदर्शक सिद्धान्त स्वीकारेको छ । अतः जननेता मदन भण्डारी नेपाली माटोमा जन्मिनुभएको नवीन विचारक, सिद्धान्तकार र देश, काल, परिस्थिति सुहाउँदो दर्शनका परिकल्पनाकार हुनुहुन्थ्यो । यो जबजको स्कुलिङलाई पृथक् रूपमा हेरिएको छ । त्यो परिवारको सदस्यका रूपमा, म खोजिएको पात्र होइन, अगाडि देखा परेको पात्र हुँ । महिला, मदन भण्डारीको परिवारको सदस्य र जबजको स्कुलिङको उत्पादन पनि भएँ म ।
राष्ट्रपतिमा तपाईं नै चयन गरिनुका अन्य केही कारण ?
त्यति बेलाका सन्दर्भमा पार्टीको आन्तरिक व्यवस्थापनको सरोकार पनि थियो होला । भर्खरै पार्टीको ९औं महाधिवेशन भएको थियो । त्यससँगै अध्यक्ष को हुने भन्ने पनि थियो होला । पुरुष नेतृत्वबीच अलिकति प्रतिस्पर्धा त हुन्छ नै, मलाई पनि भावी नेतृत्वका रूपमा समाजबाट हेरिएछ । म आफू दौडमा नभए पनि त्यसबारे स्वतः चर्चा भएछ । नेताहरूले मलाई राष्ट्रपतिमा पठाउनुभयो भने सबैका लागि खुला भयो नि ! यद्यपि त्यो निर्णय ठीक थियो भन्ने लाग्छ मलाई । नेताहरू ज–जसले यो सोच्नुभयो, सहयोग र समर्थन गर्नुभयो, उहाँहरूप्रति सधैं आभारी छु । यसको अर्थ, फेरि दोहो¥याएर भन्छु, महिला भएकैले मैले त्यो पद पाएको होइन ।
ठूला दलका शीर्ष नेताहरू राष्ट्रपति बन्नभन्दा पनि बनाउन चाहन्छन् । शितल निवासमा थन्क्याउ पठाउने हो भन्ने खाले आम जनमानसमा भाष्य बनाइएको छ । खासमा त्यो पद के र कस्तो रहेछ ?
यो गरिमामय पद हो । थन्क्याउने अर्थमा मैले बुझिनँ । तर, जति राम्रो गर्छु भने पनि राष्ट्रपति एक्लैले केही गर्न सक्दैन । राष्ट्रपति राम्रो भएको र टिम मिलेको खण्डमा देशलाई राम्ररी अगाडि बढाउन सकिन्छ ।
राष्ट्रपतिको दुइटा कार्यकाल पूरा गर्दा राष्ट्रको अभिभावक र संविधानको संरक्षकका हैसियतमा के गर्न सकें, के सकिनँ भन्ने लाग्छ ?
मैले सक्नेसम्म गरें । यो सकें, यो सकिनँ भन्नुभन्दा पनि मैले अनुभूत गरेको सैद्धान्तिक दृष्टिकोण के हो भने, सरकार र राष्ट्रपतिबीच समझदारी हुनुपर्छ र राष्ट्रपतिमा पनि राम्रो गर्ने सोच हुनैपर्छ । अनि धेरै अगाडि जान सकिन्छ । जस्तो, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने सबाल, जनताका आवाज मुखरित गर्ने कुरामा उपलब्धि हासिल गर्न सकिन्छ । राष्ट्रको भाषा, संस्कृति र सभ्यतामा योगदान पु¥याउन सकिन्छ । देशलाई राष्ट्रिय रूपमा एउटै भाव धारामा बाँधेर लैजाने कुरामा सहयोग पुग्यो भने देशको राष्ट्रपतिले गतिलो नायकको भूमिका खेल्न सक्छ ।
नयाँ संविधान बन्नासाथ तपाईं राष्ट्रपति हुनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीबीचको सम्बन्ध मजबुत बनाउन र अधिकार बाँडफाँड प्रस्ट पार्न संविधानमै केही प्रस्ट्याउनुपर्ने खड्किएको पाउनुभयो ? उदाहरणका लागि: नागरिकता विधेयक र जेलबाट अपराधीलाई छुटाउनेसम्बन्धी अध्यादेश तपाईंले रोक्दा असमझदारी भएको सर्वसाधारणले अनुभूत गरेका थिए नि ?
संविधानको सकारात्मक कार्यान्वयन गर्दाखेरि कुनै कमी हुने अवस्था छैन । कमी हुने स्थितिमा मौनता साध्न पनि सकिन्छ । खासमा संविधान बाधक छैन । संविधानको धारा ८१ मा प्रधानमन्त्रीले देहायका विषयहरूमा राष्ट्रपतिलाई जानकारी गराउनेछ भनिएको छ, (क) मन्त्रिपरिषदका निर्णय (ख) संघीय संसदमा पेश गरिने विधेयक (ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण, र (घ) नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषय । संविधानले यति प्रस्ट भनिसकेपछि राष्ट्रपतिका केही जिज्ञासा पनि त हुन सक्छन् । त्यसकारण हामी यस्तो गर्दैछौं भनेर पहिल्यै भन्दा हुँदैन ? राष्ट्रपतिले तपाईंले यो गर्नुहोस् भनेर प्रधानमन्त्रीको हात समाउने होइन नि ! मात्र सक्ने भनेको सुझाव दिन हो । त्यसमा तालमेल भइरह्यो भने त्यहाँ कुनै ग्याप हुँदैन । मैले एकपटक संविधानको धारा ८१ बारे ध्यानाकर्षण गरेर लेखेरै पनि पठाएको हुँ ।
नागरिकता विधयेकका सन्दर्भमा प्रधानमन्त्रीले संविधानबमोजिम पहिल्यै जानकारी गराउनुभएन भनेर मात्र तपाईंले प्रमाणीकरण नगर्नुभएको पक्कै होइन होला ?
मलाई दुनियाँलाई यो प्रश्न गर्न मन लाग्छ– के गर्नुपथ्र्यो राष्ट्रपतिले ? यो बुझ्नुपर्छ कि, संविधान देशका लागि हो । संविधानका लागि देश सति जान सक्दैन । काम गर्दै जाँदा अप्ठ्यारो प¥यो भने पहिला बाधा अड्काउ फुकाउजस्ता व्यवस्था थिए । यो त नयाँ संविधान हो । मैले भनिरहनु पर्दैन, देशको व्यवस्थापनका लागि संविधान निर्माण गरिएको हो । संविधानका कारण देशलाई कमजोर बनाउन मिल्छ त ? नागरिकता कानुनका विषयमा धेरैतिरबाट प्रश्न उठेका छन् । नागरिकतालाई जाति, समुदाय वा भौगोलिकताका हिसाबले हेर्ने होइन । राष्ट्रिय रूपले हेर्नुपर्छ । मैले त्यति बेला सरकारलाई जुन विषयहरू औंल्याएको थिएँ, ती विषयलाई देशको इतिहाससँग पनि जोडेर हेरियोस् । नेपालको नागरिकता कानुन नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय पहिचानसँग सम्बन्धित छ । नेपाल भौगोलिक रूपमा त्यत्रो विशाल छैन, जहाँ मान्छे बरो गरेर (खेताला खोजेर) काम लगाउनुपर्ने अवस्था छैन । त्यसमाथि हाम्रा चारैतिर सिमाना खुला छन् । विभिन्न ढंगले आप्रवासीको आगमन भइरहेको छ । हाम्रो शरणार्थी थेग्ने देश पनि होइन । नेपालमा लुकीछिपी बस्ने धेरै छन् । त्यसैले यस विषयलाई समग्रतामा हेरिनुपर्छ । र, नागरिकता कानुन बेला–बेला बदलिरहने होइन, दिगोसमेत बनाउनुपर्छ ।
संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक पनि भनेको छ । तर, सरकारले जे लैजान्छ, चुपचाप सदर गरिदिनुपर्छ भन्ने उसको व्यवहार हुने गर्छ भन्न खोज्नुभएको हो ?
संविधानको संरक्षक, पालक र राष्ट्रिय एकताको संबद्र्धन गर्ने अभिभारा संविधानले राष्ट्रपतिलाई दिएको छ । राष्ट्रिय एकताको संबद्र्धन गर्नु भनेको सानो कुरा हो ? त्यो फूलको थुँगा मात्रै लाइदिएको हो त ? जहाँसम्म सरकारले जे लैजान्छ, चुपचाप सदर गरिदिनुपर्छ भन्ने विषय छ, मैले त्यस्तो अनुभूति गरिनँ । सुझाव पनि दिएँ । बीचमा कुनै–कुनै संशोधन पनि गरिएका छन् । मलाई राष्ट्रपतिचाहिँ बुख्याँचा हो भन्ने लागेन ।
शितल निवासको लामो बसाइपछि बाहिर निस्कँदा राष्ट्रको अनुहार र समग्रतामा के फरक देखिँदो रहेछ ?
मैले त्यहाँ बसेर जे देखें, यहाँ बसेर पनि त्यही देखिरहेको छु । मेरो दृष्टिकोण– राष्ट्रपति भए पनि म जनताको छोरी हुँ । मैले जनता भएर हेरेको हुँ । नेपाली नागरिकका दुःख, व्यथा मैले केही देख्न बाँकी छन् भन्ने मलाई लाग्दैन । र, नेपाली जनताका सुखका आकांक्षा पनि बुझेको छु । त्यहाँ बस्दा पनि, अहिले पनि मेरो चश्मा त्यही हो । बदलिएको छैन । बदलिने छैन ।
त्यहाँ बस्दा बढी मात्रामा जनतालाई परेको मर्का के देख्नुभयो ?
त्यहाँ बस्दा मैले खासगरी राष्ट्रिय अर्थतन्त्रको सबाललाई जोडदार रूपमा उठाएको हुँ । सबै नेतालाई, सरकारमा बस्नेलाई र भेटेजति– सबैलाई कुरा राखेकै हुँ । राष्ट्रिय अर्थतन्त्र बलियो हुनु प¥यो, राष्ट्रिय पुँजीको प्रबद्र्धन हुनु प¥यो, देशमा उत्पादकत्वको कमी भयो, परनिर्भर भइयो, युवा शक्ति विदेश पलायन भए, साना लालाबाला, वृद्ध बुवा–आमा र भर्खर बिहे गरेका युवा श्रीमती छाडेर विदेसिनुपर्ने बाध्यता रहिरनु हुँदैन भनेर मैले मज्जाले भनेको हुँ । ७ वर्ष मैले त्यही कुरा भनिरहें ।
नेताहरूले त्यो सम्झनुहुन्छ त ?
मैले भनिनँ भनेर उहाँहरूले भन्न सक्नुहुन्छ ? शिक्षा प्रणाली कमजोर भएर हाम्रो देश कमजोर भयो भनेर मैले भनेको हो । कृषि वन कलेज कहिलेदेखि थियो ? खोइ हाम्रो उत्पादन वृद्धि ? मैले सानामा पढेको हाम्रो देशको पहिचान कृषि प्रधान, जलस्रोतको धनी, हरियो वन नेपालको धन थियो । पशुपतिनाथको देश, गौतम बुद्धको देश, सगरमाथाको देश भनेर हामीले पढेको हो । पहिला हामी सबै कुरामा परिपूर्ण थियौं, अहिले आयात वृद्धि भयो । निर्यात प्रबद्र्धन हुन सकेन । व्यापार घाटा चुलियो । यो राम्रो संकेत होइन भनेर मैले बारम्बार भनेको हुँ । उहाँहरूले सम्झिएकै हुनुपर्ने हो ।
राष्ट्रका समस्यामा पटक–पटक ध्यानाकर्षण गराउँदा प्रतिक्रिया कस्तो पाउनुभयो ?
भन्न त सबैले राम्रो हो भन्नुहुन्थ्यो । तर, राष्ट्रिय एजेन्डामा हामीले कतिपटक छलफल गर्यौं ? मलाई कहिलेकाहीं त नेताहरूलाई अलि बढी नै दबाब दिएँ कि झैं लाग्थ्यो । तर, होइन रहेछ । मैले भनेका हरेक कुरा त्यस्तै भइरहेका छन् । १२ पढेपछि कुनै विद्यार्थी देशमा बस्न चाहँदैनन् । कृषि प्रधान देशमा खर्बौंको कृषि उत्पादन आयात गर्नुपर्छ । किन ? के कुनै कुरा छिपेको छ र ? म मदन भण्डारीको श्रीमती हो । तत्कालीन नेकपा मालेको सदस्य हुँ । एमालेको पार्टी सदस्य हुँ । त्यही थाहा पाई–पाई राष्ट्रपति निर्वाचित गरेको हो नि । किन यस्तो–उस्तो भनेर अनेक लाञ्छना लगाइयो ? कसले कसरी काम गरिरहेको छ, यो विवेक पनि मान्छेले प्रयोग गर्न सक्दैन ?
तपाईंको चित्त दुखाइ खासमा केमा हो ?
मैले त अझ मूल्यांकनको कुरासमेत उठाएँ । किन कसैलाई हामीले आरोप–प्रत्यारोप गर्ने ? ल, हिजोको व्यवस्थाबाटकै मूल्यांकन गरौं । उदाहरणका लागि ५० वर्षकै कुरा गरौं । त्यसयता कति वैदेशिक अनुदान आयो ? कति ऋण आयो ? त्यो हामीले कहाँ लगानी ग¥यौं ? त्यो फल्यो कि फलेन ? मेरो अनुत्तरित प्रश्न त्यो हो । थियो । र, आज पनि अनुत्तरितै छ । अझ त्यसभन्दा अगाडि जाने हो भने कोही पनि पानीमाथिको ओभानो हुनुपर्ने स्थिति छैन । देशको अर्थतन्त्र बिगार्न मेरो पनि कुनै हात छ भने म पनि दोषी करार हुनुपर्छ । ल, सय वर्षको गरौं न । इतिहासका पाना पल्टाएर पनि हामी मूल्यांकन गर्न सक्छौं । यस्ता कुरा गर्दा मलाई अनेक आरोप लगाए । मे मैले सुकिला लुगा लगाएर हिँड्न नहुने ? दुनियाँले गाडी चढ्दा मैले सरकारले दिएको कार चढ्न नहुने ? जनताका छोरा–चोरीचाहिँ झुत्रे नै भएर पैदलै हिँड्नुपर्ने ? यो कस्तो मान्यता हो ? मैले कसैलाई यो हुँदैन, ऊ हुँदैन भनिनँ । बरु विपक्षी विचारधारालाई साथ लिएर जाने वातावरण बनाउने प्रयास गरें । तर, मलाई राष्ट्रपति होइन, एमालेको स्वार्थी कार्यकर्ताका रूपमा परिभाषित गर्न खोजियो । त्यो मलाई ठीक लागेको छैन ।
उमेरले भर्खर ६२ वर्ष पुग्दै हुनुहुन्छ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अब जनताले कुन भूमिकामा देख्न पाऊलान् ?
यस्तो लाग्छ, मैले गर्नुपर्ने काम सकिसकें । पहिला जनसंख्या तथा वातावरणमन्त्रीको जिम्मेवारी दिइयो, ७ महिने छोटो कार्यकालमा सकेको गरें । पछि फेरि रक्षामन्त्री बनाइयो । किन बनाइयो रक्षामन्त्री ? छोरी मान्छे, के सक्छे भनेर बनाइएको होला । तर, मैले त्यहाँ रहँदा जे गरें, विवेकको प्रयोग गरेर गरें । त्यसपछि राष्ट्रपति बनाइएँ । राष्ट्रहितमा मेरो विवेकले भ्याएसम्म गरें । पार्टीका हिसाबमा हेर्दा म २०५० सालमा निर्वाचनमा गएको हुँ । त्यसअघि पार्टी क्याडर थिएँ । जनप्रतिनिधि भएपछि राष्ट्रियताबारे सकेको गरें । महिलाप्रतिका खराब चिन्तनविरुद्ध आवाज उठाएँ । हामी सबैको निरन्तरको प्रयासले संविधानमा हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत छुट्याउने प्रावधान राख्न सफल भइयो । देशमा अहिले महिलाप्रतिको उँभार आएको छ, खुसी लाग्छ । मैले महिला साथीहरूलाई भनेकै हो– यो देश सतिले सरापेको भन्छन् । एउटा राजाका पछाडि ३५ जनासम्म सति पठाएको देश हो यो । आम बुझाइमा सति भनेको महिला हो । हामी पनि महिला हौं । अब हामी सबै लागेर यो देशलाई मुक्त गर्नु पर्यो । अहिले देशभरि महिला लाग्नुभएको छ, जाग्नुभएको छ ।
तपाईं सक्रिय राजनीतिमा आउने बजार चर्चा व्यापक छ, यथार्थ के हो ?
मैले गर्नुपर्ने काम गरिसकें भने, अब फेरि किन सक्रिय राजनीतिमा जानु पर्यो ? तर, राष्ट्रपति हुने बेला मप्रति जुन अनुमान र परिचर्चा थियो, अहिले त्यस्तै म पनि सुन्छु । आफैं कुराहरू बाहिर आइरहेका छन् । भेट हुँदा कतिपय साथीले सुनाउनुहुन्छ, चिन्ता देखाउनुहुन्छ । उहाँहरू कुरा त गर्नुहुन्छ, सुनिराखेको छु मैले ।
प्रस्टै भनिदिनु न, खास कुरो के हो ?
संक्षिप्तमा भन्नु पर्दा, मैले त्यस्तो केही धारणा बनाएको छैन । बजारमा चर्चा छ भन्नेचाहिँ मेरो पनि जानकारीमा छैन भन्ने कुरा होइन ।
एमालेको प्रदेशस्तरीय निर्वाचनमा तपाईंका प्यानलै बने भनिए । धेरै ठाउँमा जिते पनि रे.... त्यो होइन र ?
पक्ष भन्दा पनि सबै मेरै पक्ष हुन् । दुई पक्ष भन्ने नै छैन । मैले बाहिर बसेर भन्नु पर्दा– एमालेभित्र केपी शर्मा ओलीपछि अध्यक्ष को हुने भन्ने आन्तरिक सरोकार होला । तर, अहिल्यैदेखि चर्चा चलाउनुपर्छ भन्ने मलाई लाग्दैन । महाधिवेशन आउन अझै लामो समय बाँकी छ । उहाँपछि अध्यक्ष बन्न आ–आफ्ना पक्षमा शक्ति सञ्चय गर्न लागेको हो भने त्यो बेठीक हो । त्यस्ता पंक्तिलाई मेरो सुझाव छ– पार्टी बलियो बनाउन लाग्नुहोस् । कसैको पक्ष वा विपक्षमा शक्ति सञ्चय गर्न नलाग्नुहोस् । बरु राष्ट्रिय शक्ति निर्माण गर्न लागौं । राष्ट्रिय र पार्टीको आन्तरिक आवश्यकताले केपी ओली दोहोर्याउन सक्नुहुन्छ, तेहोर्याउन सक्नुहुन्छ । चीनका राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालमा हुनुहुन्छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद तेस्रो कार्यकाल चलाइरहनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोहोर्याइसक्नुभयो, तेहोर्याउने भन्नेमा हुनुहुन्छ । नेपालमा चाहिँ हुँदैन भन्ने कुरा हुँदैन । विचार–दृष्टिकोण हो, उमेरले पनि केही फरक पार्दैन । त्यसैले एमाले नेतृत्वका विषयमा अनेक परिचर्चा र टिकाटिप्पणी गर्नु, पक्ष–विपक्ष बन्नु गलत हो । एकथरिले अध्यक्ष ओलीको छाता ओढ्ने, अर्काथरिले अर्कै छाता ओढ्न खोज्ने– आफैंमा गलत हो । त्यो बेलै भएको छैन । भविष्यमा नेतृत्व के गर्ने भन्ने सबाल छलफलका लागि अध्यक्षले आह्वान गर्नुभयो भने पो छलफल गर्ने कुरा भयो ।
परिस्थितिले, समयको आवश्यकताले र एमालेभित्रका नेताहरूको जोडबलले फेरि राजनीतिमा जानुपर्ने भयो भने के गर्नुहुन्छ ?
पार्टीभित्र छलफल भयो, सबैले एकताका साथ धारणा बनाए भने– त्यतिखेर सोच्ने कुरा बेग्लै हो । तर, अहिले मैले नसोचेको कुरामा बाहिर छलफल भइरहेको छ । म फेरि प्रस्टसाथ भन्न चाहन्छु कि, यो अहिल्यै त्यसरी छलफल गर्ने विषय होइन । अहिले त राष्ट्रिय समस्या र मुद्दामा घोत्लिएर अगाडि बढ्ने बेला हो ।
प्रसंग बदलौं । देशको समग्र राजनीतिलाई कसरी हेर्नुभएको छ ?
लोकतन्त्रको अभ्यास भइरहेको छ । केही–केहीमा गलत अभ्यास पनि भइरहेको हो भन्ने देखिन्छ । जस्तो: निर्वाचनअघि नै धेरै पार्टी मिल्ने र एउटा पार्टीविरुद्ध गोलबन्द हुने । यो प्रवृत्ति राम्रो होइन । लोकतन्त्रमा पार्टी बन्ने आधारभूत तहदेखि हो । पहिला पार्टी निर्माण गर्ने, आफ्नो पार्टीका पक्षमा कस्तो जनमत हुन्छ, त्यसका आधारमा सहकार्य गर्ने वा कसरी अघि बढ्ने भन्ने तय गरिनुपर्ने हो । आफूलाई देशको सबैभन्दा ठूलो पार्टी भन्ने, शक्तिशाली हुँ भन्ने, एक ठाउँ हाछ्युँ गर्दा सबैतिर उडाइदिन्छु भन्नेहरूले किन गठबन्धन गर्नु ? स्वच्छ राजनीति भएन । सत्ताखेलको राजनीति मात्र भयो । देशका लागि राजनीति भएन । राष्ट्रिय राजनीति भएन । राजकीय सत्ता कब्जा गर्ने मात्र राजनीति भयो । सबै दललाई सुधार्न मेरो सुझाव छ ।
पछिल्लो समय निर्माण भएका दलहरूले जनमत जित्दै जानुको मुख्य कारण त्यही हो ?
मुख्य हाँगो कमजोर भयो भने ऐंजेरु पलाउँछ । धान पनि राम्ररी गोडमेल गरेन भने सावा बन्छ । त्यो फल्दैन, तर हेर्दा धानजस्तै हुन्छ । धान र सावा छुट्याउन सक्नु प¥यो । मलाई कसैलाई केही भन्नु छैन । सानो र ठूलो पार्टी भन्ने हुँदैन, राम्रो विचार बोकेरचाहिँ हिँड्नु प¥यो । एक जनाको पनि महत्व हुन्छ । धेरै जना भएर पनि राम्रो काम गर्न सकेन भने के गर्नु ?
ऐंजेरु बढिसक्यो, मूल हाँगा सुध्रिएनन् भने ऐंजेरुले रूखैलाई टप्ने त होइन ?
ऐंजेरुले फल दिँदैन । त्यसो हुँदा बालीनाली वा बोटविरुवा लगाउने किसानहरूले सोच्नु पर्यो ।
देशमा भ्रष्टाचार व्याप्त छ, ढिलासुस्ती र घूसखोरी छ । यस समस्याको समाधान के देख्नुभएको छ ?
हाम्रो समाजलाई हेर्दा व्यक्तिगत आम्दानी अति कम छ । जहाँ प्रतिव्यक्ति आय कम हुन्छ, त्यहाँ स्वाधीनता पनि कम हुन्छ । अहिले महँगी जसरी बढेको छ, त्यसका अनुपातमा सरकारी कर्मचारीको तलब एकदम कम छ । शिक्षा र स्वास्थ्य यतिबिघ्न महँगिएको छ, धान्न गाह्रो छ । ज्येष्ठ नागरिकको हेरचाह खर्चिलो छ । अचेलका अभिभावकले शिक्षा र स्वास्थ्यमा सम्झौता गर्न चाहँदैनन् । अर्कातिर राजश्व असुली उस्तै अवैज्ञानिक छ । बालबालिका साना भएका दम्पत्तिलाई करमा छुट दिइनुपर्छ । अनि पो हेरविचार गर्ने राखेर आफ्नो काम गर्न सकिन्छ । बरु दायरा बढाउनुपर्छ । कसैले राम्रो आम्दानी ग¥यो भने सरकारले गिद्दे दृष्टि लाइहाल्ने गर्नु हुँदैन । एउटैलाई निचोर्ने होइन, फराकिलो दायरा बनाउनु पर्छ । हरित अर्थतन्त्रका स्रोतको प्रबद्र्धन गरिनुपर्छ । अर्थतन्त्रको सबलीकरण र आर्थिक अनुशासन सुशासनका मुख्य आधार हुन् । त्यता लाग्नुपर्छ ।
अरू विकृति के–केमा देख्नुभएको छ ?
पहिला साझा बस पेट्रोलियम थियो । अहिले बिजुलीबाट चल्ने ल्याएका छन् । तर, चलाउनै सकेका छैनन् । समस्या अनेक छन्– रुट, पार्किङ, चार्जिङ आदि । मैले मन्त्रीहरूलाई बीचमा भनेको पनि थिएँ, पहिला हाम्रो ट्रली बस थियो । ६० वर्षपहिला त्यो बिजुलीबाट चल्ने गाडी किन ल्याइएको रहेछ भनेर अहिले पनि घैंटामा घाम नलाग्ने हो भने कहिले लाग्छ ? त्यो ट्रली बसका ठाउँमा साझालाई किन नपु¥याउने ? धेरै खेतबारी बाँझा छन् । हामीलाई यति लाख डलरको धान दिनु प¥यो भनेर निवेदन हाल्नु परेको छ । किसानका समस्यामा खोइ कसैको ध्यान किन नगएको ? सुन नभए मान्छे बाँच्छ, खाना नभए बाँच्छ ? कसैले सुनै त खाँदैन होला नि ? लगाउन त हामी पनि अलिअलि गहना लाउँछौं । घरिघरि त फालिदिनुजस्तो लाग्छ ! क्विन्टलका क्विन्टल सुन तस्करी भयो भनेपछि मलाई त घृणा जागेर आयो ।
अन्त्यमा, केही भन्न आवश्यक ठान्नुहुन्छ ?
गलत प्रवृत्तिलाई प्रोत्साहन गर्ने र मुठीभर व्यक्तिलाई पोस्नेमा देश जानु भएन । जनताको सुखशान्ति केमा छ, त्यो हेर्नु पर्यो । नेताहरू र सरकारको ध्यान त्यता जाओस् । दीपावली, छठलगायत पर्वको सबैमा शुभकामना ।
https://annapurnapost.com/story/445581/